91-561261 0091561236 rjkip@dwri.gov.np टिकापुर, कैलाली
नेपाल सरकार
ऊर्जा ,जलस्रोत तथा सिंचाइ मन्त्रालय
जलस्रोत तथा सिंचाइ विभाग

रानी जमरा कुलारिया सिंचाइ आयोजना
टिकापुर, कैलाली

हाम्रो बारेमा

image

राष्ट्रिय गौरवका योजनामा समावेश रानी जमरा कुलरीया सिंचाइ प्रणाली नेपालको सुदूर पश्चिम प्रदेशको कैलाली जिल्लामा अवस्थित कृषकबाट निर्माण गरी व्यवस्थापन समेत गरिएको सवै भन्दा ठूलो सिंचाइ प्रणाली हो । यस प्रणालीको पानीको श्रोत कर्णाली नदी (पश्चिमी भङ्गालो झरही नाला) रहेको छ । यस प्रणालीको निर्माण करीव १२० वर्ष भन्दा अगाडी विभिन्न चरणमा स्थानीय समुदायको अथक प्रयासबाट भएको थियो ।

आ.व. २०६६/६७ सालमा आधुनिकीकरण गर्न शुरु गरिएको यस प्रणालीलाई हाल नेपाल सरकारबाट राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको छ । यस आयोजनाको मूल उद्देश्य रानी जमरा कुलरिया सिंचा प्रणालीको १४,३०० हेक्टर, नयाँ शाखा नहर विस्तार (लम्की विस्तार) को ६००० हेक्टर र सिंचित क्षेत्र विस्तार अन्तर्गत पथरैया देखि कान्द्रा नदि सम्मको थप १८००० हेक्टर गरि जम्मा ३८,३०० हेक्टर खेति योग्य जमिनमा वर्षै भरि सिंचाइ सुबिधा उपलब्ध गराउनु रहेको छ समग्र सिंचित क्षेत्र ३८,३०० हेक्टर रहने भए पनि हाल नेपाल सरकारबाट  स्विकृत गुरु योजना अनुसार २०,३०० हेक्टर क्षेत्रफलको निर्माण कार्य आ.व. २०८०/८१ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

यस कृषक निर्मित तथा व्यवस्थित सिंचाइ प्रणालीलाई संचालन गर्न कृषकहरुले प्रत्येक वर्ष कर्णाली नदीमा (झरही नाला) झालापाता, ढुंगा आदि जस्ता स्थानीय स्तरमा उपलब्ध सामग्रीहरुको प्रयोग गरी तीन वटा अलग अलग स्थानमा अस्थायी बाँध बनाइ नदीको वगरमा कुलो खनी आ-आफ्नो सिंचाइ प्रणालीका लागि पानी लैजाने व्यवस्था मिलाउदै आएका थिए । अस्थायी बाँध र नदीको बगरमा बनाइएको कुलो प्रत्येक वर्ष कर्णाली नदीको बाढीले बगाउने र सिंचाइ गर्न प्रत्येक वर्ष उपभोक्ताहरुले पुनः बनाउनु पर्ने झन्झट व्यहोरीरहेका थिए । बेला बेलामा कर्णाली नदीमा आउने असामायिक बाढीले वनाइएको बाँध र नदीको वगरमा वनाइएको नहरलाई क्षति गर्ने गरेको र उपभोक्ताहरुले उक्त क्षतिग्रस्त प्रणालीलाई बेला बेलामा आवश्यकता अनुसार देशावर को माध्यम बाट ठुलो जनश्रम परिचालन गरी मर्मत गरी प्रणालीलाई सञ्चालनमा ल्याउनु परेको थियो । बर्षेनी गर्नु पर्ने मर्मत संभारको समस्याका साथै प्रणालीमा पानीको वहाव नियन्त्रण गर्ने संरचना नभएकोले कर्णालीबाट आउने अनियन्त्रित पानी प्रणालीमा प्रवेश गर्दा यस प्रणालीको सिंचित क्षेत्र र यसको किनारा क्षेत्रमा समेत पानी जम्ने समस्या, सिंचित क्षेत्र कटान तथा बाटो घाटोमा पानी जम्ने आदिको समस्या हुने हुँदा आवत जावतमा पनि अवरोध हुने स्थिति रहेको थियो

उक्त समस्याहरुको समाधानार्थ यस प्रणालीका उपभोक्ता कृषक, यस क्षेत्रका राजनैतिक दलहरु, समाजसेवी तथा जलस्रोत तथा सिंचाइ विभागको सामुहिक प्रयासमा यस सिंचाइ प्रणालीको विकासले राष्ट्रको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने देखिएकोले नेपाल सरकारले यस प्रणालीको विकासको लागि प्राथमिकता दिनुका साथै टिकापुरमा आ.व. २०६६०६७ मा रानी जमरा कुलरीया सिंचाइ आयोजना कार्यालयको स्थापना भएको हो। सोहि उद्देश्य प्राप्तिको लागि नेपाल सरकार र बिश्व बैंकको लगानीमा विभिन्न निर्माण कार्यहरु संचालनमा रहेका छन् ।

नेपाल सरकार तथा बिश्व बैंकको संयुक्त लगानीमा आ.व. २०६७/६८ देखि आ.व. २०८०/८१ सम्ममा सम्पन्न गर्ने लक्ष्य साथ कुल लागत रु २७ अर्ब ७० करोड २५ लाख को खरिद गुरुयोजना मिति २०७४/१२/१५ मा स्वीकृत भएको छ। नेपाल सरकारको लगानी अन्तर्गत इन्टेक निर्माणको कार्य सम्पन्न भैसकेको, मूल नहर, कुलरिया अफ्टेक सम्मको फिडर नहर तथा संरचनाहरुको निर्माण, ४.७१ मेगावाट को हाईड्रो पावर, लम्की विस्तार अन्तर्गतको १४.६५ कि.मी. मूल नहर तथा संरचनाहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।  मिति अक्टोबर १८, २०११ देखी सेप्टेम्वर ३०, २०१८ सम्म विश्व बैंकको सहयोगमा प्रणालीको आधुनिकिकरणको प्रथम चरणको काम सम्पन्न गरेको छ भने  दोश्रो चरणको कार्य जुलाई १, २०१८ सम्झौता गरि  जुलाई १५, २०२ मा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।